काठमाण्डौ । सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच वटा प्रतिस्थापन विधेयक अन्ततः सघीय संसद्का दुवै सदनबाट पारित भएको छ ।

प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका पाँच वटा प्रतिस्थापन विधेयक आज एकै दिन राष्ट्रियसभाबाट पारित भएको हो । राष्ट्रियसभाले पारित गरी सन्देशसहित पठाएका ती विधेयक आजै प्रतिनिधिसभाको दोस्रो बैठकले समेत अन्तिम समयमा आएर पारित गरेसँगै अध्यादेश कानून बनाउने बाटो खुलेको छ।

अब सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनुहुने छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक कानून बन्नेछन्। आज पनि राष्ट्रियसभाबाट प्रतिस्थापन विधेयक पारित नभएको भए अध्यादेशहरू निष्क्रिय हुने थियो ।

संविधानमा सरकारले ल्याएको कुनै पनि अध्यादेश लगत्तैको सङ्घीय संसद्को अधिवेशन शुरू भएको दुई महिनाभित्र पारित गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

दुबै सदनबाट पारित भएको पाँच वटा प्रतिस्थापन विधेयकहरु

‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’

‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१

‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१

‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’