काठमाडौँ । पछिल्लो समय नेपालमा हुण्डी कारोबारको बेथिति मौलाउँदै गएको छ । तीव्र रूपमा बढेको हुण्डी कारोबारले सरकारको सुरक्षा व्यवस्थामा समेत चुनौती बढाएको छ । धेरैलाई हुण्डीको विषयमा प्रस्ट ज्ञान नभएको कारण वा सेवा शुल्क नलाग्ने आशामा हुण्डी कारोबारमा मोहित भएको देखिन्छ । तर यो कारोबार कति सुरक्षित छ भन्ने विषयमा त्यति धेरै ध्यान दिएको पाइँदैन । यस कारण पहिलो विषय त हुण्डी के हो भनेर प्रस्ट हुन आवश्यक छ ।

सामान्यअर्थमा विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत स्वदेशमा पठाउने कार्यलाई हुण्डी भनेर बुझ्न सकिन्छ ।

नेपालको हकमा हुन्डी मार्फत रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित मानिँदैन। हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने र सेवा शुल्क समेत न्यून लाग्ने भएको कारण हुण्डीको माध्यम प्रयोग गरेर विदेशबाट धेरै नेपालीले पैसा पठाउने गरेका छन् । साथै हुन्डी कारोबारमा धेरै भन्दा धेरै नेपालीहरू ठगिएको समेत प्रशस्त उदाहरण छन् । यसर्थ हुन्डी आफैमा कानुनी कारोबार होइन यस माध्यमबाट गरिने कारोबार धेरै हिसाबमा असुरक्षित मानिन्छ ।

खास गरी सुन तस्करी, लागु औषध कारोबार, न्यून विजकीकरण गरी समान आयात, मानव बेचबिखन, अवैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रसय दिइरहेको पाइन्छ। त्यसैले पनि हुण्डी कारोबारलाई अवैध र जोखिमपूर्ण मानिएको छ । हुण्डी कारोबार गर्नेहरूले कुनै पनि देशको कानुन अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । कानुनी प्रक्रिया अनुुसार नभएकै कारण आफू ठगीमा परेको खण्डमा उजुरी दिने ठाउँ नहुन पनि सक्छ त्यसैले रकम हिनामिना भएमा कानुनी उपचार पाउन समेत कठिन बन्दै गएको छ ।

हुन्डीको अनुसन्धान नै नहुने भएकाले निर्बाध रूपमा अर्बौँ रकम यसकै माध्यमबाट लेनदेन हुने गरेको छ । हुन्डीको अवैध कारोबारसँगै सुन तस्करी पनि मौलाएको छ । लागु औषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरीको भनाई छ । हुन्डीकै कारण नेपालबाट बाहिर पुँजी पलायन भएको केही अर्थविद् हरूको भनाई छ । पछिल्लो समय नेपालको सम्पत्ति बेचेर विदेशमा सम्पत्ति जोड्ने प्रवृत्ति बढेको देखिन्छ। “स्रोत नखुलेको पैसा भनेर स-सानो रकम बरामद हुने गरेको छ ।

कतिपयको धारणा हुन्छ कि हुण्डीबाट आए पनि बैकिङ्ग प्रणालीबाट आए पनि आखिर पैसा मुलुकभित्रै आउने त हो । तर, त्यो रकम राष्ट्रिय आयमा गणना हुँदैन र कहाँ कति लगानी भयो भन्ने पनि थाहा हुँदैन। यस्तो रकम सत्ता परिवर्तन, राजनीतिक आन्दोलन, विखण्डनकारी गतिविधि तथा समाजमा अशान्ति मच्चाउन पनि प्रयोग हुनसक्छ ।

हुण्डीबाट आएको सबै रकम सही प्रयोजनकै लागि आएको मान्न सकिँदैन। अनि यसले मुलुकको विदेशी मुद्राको सञ्चिति घटाउँछ । अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ । नेपालमा बैंकिङ च्यानलसँग जोडिएका पाटो नेपाल राष्ट्र बैंकले हेर्ने हो। त्यसैले पनि राष्ट्र बैंकले हुण्डीलाई निरुत्साहित गर्न विभिन्न उपाय अपनाइरहेको छ। पछिल्लो समय राष्ट्र बैंकले हुण्डी कारोबारलाई न्यूनीकरण गर्नका लागि कारोबारीलाई कारबाही गर्ने र दोस्रो अनधिकृत व्यापार तथा सुन आयातलाई रोक्ने प्रयास गरिरहेको देखिन्छ। त्यसका लागि केन्द्रीय बैंक, अर्थ मन्त्रालय र सुरक्षा निकायको संयुक्त टोलीले काम गरिरहेको छ ।