काठमाडौँ । समस्याग्रस्त घोषित भएका तीन सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी भएको छ।
बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुमेरु र काठमाडौँका लालीगुराँस तथा नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण चुक्ता गर्न समय दिएको हो।
तीन वटै समितिलाई बागमती प्रदेश सरकारले गत पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो। समितिले उक्त तीन वटा सहकारी संस्थाबाट लिएको ऋण रकमको सावाँ र ब्याज मंगलबारको मितिले ३५ दिनभित्र समिति समक्ष बुझाउन आग्रह गरेको छ।
तोकिएको समयभित्र दायित्व राफसाफ नगर्नेलाई कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी पनि समितिले दिएको छ ।
समितिले हिजो सोमबार तीन वटै सहकारीका सञ्चालक तथा कर्मचारीलाई सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात एवं सम्पत्ति समितिसमक्ष बुझाई कार्यालय बन्द गर्न र कुनै कारोबार नगर्न समेत निर्देशन दिएको थियो ।







