Swabalamban Laghubitta Bittiya Sanstha Vacancy

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जस अनुसार संस्थाको ब्याज आम्दानी बढ्दा र खर्चमा कमी आउँदा नाफामा सुधार देखिएको छ। संस्थाले सार्वजनिक गरेको विवरण अनुसार ८ करोड ७ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९४.२१ प्रतिशतले बढी हो।

अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ४ करोड १५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २०.०२ प्रतिशतले बढेको छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६६ करोड ६६ लाख रुपैयाँ गरेको संस्थाको खुद ब्याज आम्दानी बढेर ८० करोड १ लाख रुपैयाँ पुगेको छ ।

यस्तै संस्थाले ६१ करोड ४० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ। संस्थाको अन्य सञ्चालन खर्च पनि ४ करोड ८६ लाखबाट घटेर ४ करोड १६ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन १४ अर्ब ८९ करोड र कर्जा प्रवाह १९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य मुनाफा १० करोड १७ लाख रुपैयाँ रहेको संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी भने १०.२६ रुपैयाँ रहेको छ।

संस्थाको खराब कर्जा अनुपात समेत घटेको छ। अघिल्लो आवसम्म ११.३६ रुपैयाँ रहेको खराब कर्जा अनुपात ८.२८ प्रतिशतमा खुम्चिएको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएसं) ९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ कायम भएको छ ।