काठमाडौँ । वाणिज्य बैंकहरुको आधार दर९बेस रेट० क्रमशः घट्दो क्रममा रहेको छ। पछिल्लो १ महिनामै २० वाणिज्य बैंकहरुको औसत आधार दर ०.२१ प्रतिशत विन्दुले घटेको छ।
वाणिज्य बैंकहरुको औसत आधार दर माघ महिनामा मात्रै ६.८१ प्रतिशत रहेको छ। पुसमा बैंकहरुको औसत बेस रेट ७.०२ प्रतिशत थियो। पछिल्लो केही महिनायता बैंकहरुको ब्याजदर निरन्तर घट्दो क्रममा छ । बैंकहरुको घट्दो बेस रेटकै कारण ऋणीलाई समेत राहत मिलेको देखिन्छ ।
अहिले ३ बैंकको आधार दर ६ प्रतिशतभन्दा मुनि आएको छ। जसमध्ये सबैभन्दा कम बेस रेट स्टान्डर्ड चार्टर्ड बैंकको ५.१९ प्रतिशत छ। राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.६४ प्रतिशत र एभरेष्ट बैंकको आधार दर ५.६६ प्रतिशत छ।
७ बैंकको आधार दर ७ प्रतिशतभन्दा कम छ। सबैभन्दा धेरै आधार बेस रेट हुनेमा एनआइसी एसिया बैंक रहेको छ। यसको यस्तो रेट ७.७५ प्रतिशत छ।
यस्तै, एभरेष्ट बैंकको बेस रेट पनि ५.६६ प्रतिशत, नबिलको ६.३१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ६.५८ प्रतिशत, ग्लोबल आइएमईको ६.९५, सानिमाको ६.९०, प्रभुको ७.२६, कृषि विकासको ६.७८ र एनएमबिको ६.९२ प्रतिशत रहेको छ ।

ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार बेस रेट (आधार दर)हो । बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्यूनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधार दर हो ।
बैंकहरुको बेस रेट अनुसार नै ऋणको ब्याज महँगो अथवा सस्तो हुने संकेत गर्छ । यस्तो रेट कम भएका बैंकहरुले कम ब्याजदरमै कर्जा उपलब्ध गराउन सक्नेछन्।
बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्दछ ।
आधार दर भन्दा बढी कुनै पनि बैंक तथा वित्तीय संस्था ले ब्याजदर लिन पाउँदैनन्। कर्जाको ब्याजदर आधार दर (बेस रेट) मा लिङ्क गरेको हुन्छ । आधार दर जहिले पनि तीन-तीन महिनामा घटबढ हुने गर्दछ।







