काठमाडौँ । वाणिज्य बैकहरुले प्रस्तुत गरेको तथ्यांक अनुसार बैंकहरु कर्जा असुलीमा सक्रिय रूपमा लागि परेको भए पनि सोचे अनुसार असुली नहुँदा खराब कर्जा अनुपात गत वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आवको तेस्रो त्रैमासमा गत आवको तेस्रो त्रैमासको तुलनामा ३२ दशमलव १९ प्रतिशतले खराब कर्जा बढेको प्रस्तुत तथ्यांकमा उल्लेख छ ।

ऋणीले समयमै रकम फिर्ता गर्न नसक्दा बैंकरहरूलाई कर्जा असुलीमा पर्न गएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्मको तथ्यांक अनुसार बैंकहरूमा असुली हुन नसकेको ऋणको मात्रा उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १८ बैंकको खराब कर्जा बढेको छ भने २ बैंकले मात्रै घटाउन सफल भएका छन् । चालु आवको तेस्रो त्रैमाससम्ममा ९ वटा बैंकको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी देखिएको छ। यस अवधिमा हिमालयन बैंकको सबैभन्दा बढी खराब कर्जा देखिएको छ ।

उक्त बैंकको खराब कर्जा ७.६८ प्रतिशत रहेको छ भने त्यसलाई क्रमशः कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पछ्याएको छ। कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ६.०६ प्रतिशत रहेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम कमर्सियल बैंक, नेपाल बैंक र प्रभु बैंकको खराब कर्जा राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको सीमा भन्दा माथि देखिएको छ ।

आर्थिक सुस्ततासँगै बैंकहरूलाई कर्जा असुलीमा समेत सकस परिरहेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणका अनुसार कर्जा असुली थप पेचिलो बनेको छ । चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्मको तथ्यांक अनुसार कर्जा असुली नहुँदा बैंकहरूको खराब कर्जा (एनपीएल) बढेको छ । राष्ट्र बैंकले यस बीचमा असल कर्जामा १.१ प्रतिशत राख्नुपर्ने प्रोभिजनलाई घटाएर १ प्रतिशतमा झारेको थियो भने निर्माण व्यवसायीहरूको कर्जामा तिर्नुपर्ने व्याजको १० प्रतिशत मात्रै तिरे असार मसान्तसम्म ऋण पुनर्तालिकीकरण गर्न दिने सुविधा दिएको थियो ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकहरुको खराब कर्जा घट्ने बैकरको अनुमान विपरित औसतमा बैंकहरुको खराब कर्जा भने बढेको छ । गत वर्ष ३.६५ प्रतिशत रहेको २० वटा वाणिज्य बैंकहरुको खराब कर्जा चालु आवको चैतसम्म आउँदा ४.८३ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा नेपाल एसबीआई बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको छ। गत वर्षको चैतमा १.९८ प्रतिशत रहेको खराब कर्जा १०५ प्रतिशत बढेर ४.०६ प्रतिशत पुगेको छ । एनआईसी एशिया बैंकको ८६.६८ प्रतिशत बढेर ५.७५ प्रतिशत, सानिमा बैंकको ८०.९५ प्रतिशत बढेर ३.४२ प्रतिशत, सिद्धार्थ बैंकको ६०.३२ प्रतिशत बढेर ४.०४ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । समयमा कर्जा भुक्तानी नगरेपछि ऋणीको सम्पत्ति लिलामी गरेर कर्जा असुली गर्न सक्ने भए पनि लिलामीमा समेत सम्पत्ति बिक्री नभएको बैंकंरहरुको भनाई छ ।

त्यस्तै यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.६६ प्रतिशतबाट बढेर ६.०६ प्रतिशत पुगेको छ । लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.८६ प्रतिशत, सिटिजन्स बैंकको ५.७१ प्रतिशत, प्राइम बैंकको ५.६५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत रहेको छ ।

यता, ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, एनएमबि बैंकको ४.४७ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.०६ प्रतिशत, सिद्धार्थ बैंकको ४.०४ प्रतिशत र सानिमा बैंकको ३.४२ प्रतिशत रहेको छ। तर, यस अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको खराब कर्जा भने घटेको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२.७१ प्रतिशत घटेर १.४४ प्रतिशत बिन्दु र एभरेष्ट बैंकको ८.५७ प्रतिशत घटेर ०.६४ प्रतिशत बिन्दुमा खराब कर्जा झरेको छ।