काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेप राख्नका लागि तोकेको शर्तमा खराब कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले अब ८ प्रतिशतसम्म खराब कर्जा भएका बैंक तथा वित्तीय संस्थाहरुमा पनि मुद्दति निक्षेप राख्ने भएको हो । यसअघि भने राष्ट्र बैंकले निष्कृय कर्जा ५ प्रतिशत भन्दा कम भएका बैंक तथा वित्तीय संस्थाहरुमा मात्र मुद्दति निक्षेप राख्ने शर्त तोक्दै आएको थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार विभिन्न कोशमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको शर्तहरुमा राष्ट्र बैंकले निष्कृय कर्जा (एनपीएल)अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने जनाएको छ ।

वाणिज्य बैंकहरुमा ३ अर्ब २० करोड ६५ लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६० करोड ११ लाख तथा वित्तीय संस्थाहरुमा २० करोड ३ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । उक्त रकम आगामी सन् २०२५ मार्च १२ तारिकदेखि लागू हुनेगरी सन् २०२६ मार्च १२ सम्मका ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले बताएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित फागुन २० गते राति १२ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।