काठमाडौैं। नेपाल राष्ट्रबैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक वित्तीय संस्थामा यति बेला लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको धारणा राखेका छन् ।

आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै गभर्नर पौडेलले यति बेला बैंकमा निक्षेप पनि उच्च रहेको, विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकास हुने गरी लगानी अवसर आएको उल्लेख गरेका हुन्।

राष्ट्र बैंकसँग बैकहरूको ५ खर्ब २० अर्ब रुपैयाँ रकम थन्किएको उल्लेख गर्दै उनले अब वित्त नीतिले नेतृत्व गरी ऊर्जाजस्तै लगानीका अरू क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिए ।

मौद्रिक नीति र वित्त नीतिबिच समन्वय गरेर अघि बढ्नुपर्ने बेला रहेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको नियमनमा माइक्रो इकोनोमिक दृष्टिकोणले सोच्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘जुन क्षेत्रमा लोन जाओस् भन्ने चाहेका हौँ, त्यहाँ पुगेन भन्ने गुनासो छ, त्यसलाई सम्बोधन गर्ने प्रयास आगामी मौद्रिक नीतिमा हुनेछ’ उनले भने । सबैलाई समेट्ने, सबै क्षेत्रलाई माथि लैजाने मौद्रिक नीतिको प्राथमिकता रहने उनले बताए ।