काठमाडौँ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले गत साउन १५ गतेदेखि हाल कायम ३७ करोड १४ लाख रुपैयाँ चुक्तापूँजीको ६५ प्रतिशत बराबर अर्थात् १ः०.६५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो।

यसअघि कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि असार ८ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार असार ७ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र आवेदन दिन योग्य छन्।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले काठमाडौंस्थित बिक्री प्रबन्धकको कार्यालय, जोशी हाईड्रोको कार्यालय तथा लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै, सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिन्छ।

नेपाल धितोपत्र बोर्डले जेठ २६ गते हकप्रद निष्कासनका लागि अनुमति दिएको थियो। यसबाहेक, क्रेडिट रेटिङ संस्था केयर रेटिङले कम्पनीलाई ‘केयर–एनपी बी (आईएस)’ रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।