काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

साथै, बोनस शेयर वितरणपछि कम्पनीले कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्ने पनि निर्णय गरेको छ। यस निर्णयले कम्पनीको पुँजी संरचना सुदृढ गर्न र कृषि क्षेत्रका उत्पादन तथा सेवामा थप लगानी गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।

कम्पनीले सातौँ वार्षिक साधारण सभा आगामी कात्तिक २१ गते (शुक्रबार) बिहान ११:३० बजे सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा आह्वान गरेको छ। साधारण सभामा लाभांश प्रस्ताव र हकप्रद शेयर निर्गमनलगायतका विषयमा अन्तिम निर्णय गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, कात्तिक १३ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी नाम दर्ता भएका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।

कृषि क्षेत्रमा प्रविधिमैत्री र दिगो व्यवसाय विस्तारतर्फ अग्रसर मुक्तिनाथ कृषि कम्पनीको यो निर्णयले शेयरधनीको लगानी प्रतिफलसँगै कम्पनीको पुँजी वृद्धि र बजार सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।