काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरास्थित होटल वाटरफ्रण्टमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क सङ्कलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२० जना अभिकर्ताहरू लाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को उपस्थितिमा कम्पनीले सम्मान गरेको हो । समारोहमा विभागीय प्रमुखहरू, प्रदेश प्रमुख तथा गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

सम्मान र अवार्ड वितरण

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गरेको सम्मान कार्यक्रममा:

गण्डकी प्रदेशबाट सीईओ क्लबका सदस्य बन्न सफल अभिकर्ताहरूलाई सदस्यता वितरण तथा सम्मान गरियो । सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरियो ।

सीईओ खत्रीले नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाईफको लोगो अङ्कित चाँदीको मेडल, प्रमाणपत्र र खादा बाट सम्मान गरे ।

कम्पनीको योजना र सीईओको भनाइ

समारोहलाई सम्बोधन गर्दै सीईओ खत्रीले सीईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लैजाने कम्पनीको योजना अनुरूप गण्डकी प्रदेशमा पहिलो कार्यक्रम आयोजना गरिएको जानकारी गराए । उनले अन्य प्रदेशहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जाने बताए ।

खत्रीले अभिकर्ता मैत्री स्किमहरू ल्याउने क्रममा सीईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जनाभन्दा बढी अभिकर्ताहरू छनोट हुन सफल भएको भन्दै यो योजना अत्यन्तै सफल भएको धारणा राखे ।

प्रशिक्षक र सहभागीको प्रतिक्रिया

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले विशेष तालिम प्रदान गरे । तालिमको क्रममा रजाले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरैभन्दा धेरै व्यक्तिहरूसँग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्न सक्ने आवश्यक ज्ञान र साहस चाहिने बताएका थिए ।

तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेशालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लाने ऊर्जा मिलेको सहभागी अभिकर्ताहरूले बताए । साथै, सीईओबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको प्रतिक्रिया उनीहरूले दिएका थिए ।