काठमाडौँ । काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ ।
मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार उनीहरूमार्फत १ अर्ब १ करोड २८ लाख २३ हजार ९ सय २५ रुपैयाँ रोयल्टी संकलन भएको हो ।
सरकारले यस वर्षदेखि रोयल्टी शुल्क वृद्धि गरेपछि संकलन रकममा उल्लेख्य वृद्धि भएको बताइएको छ।
समग्रमा यस सिजनमा २९ वटा हिमालका लागि १ सय २७ समूहका १ हजार ७२ आरोहीलाई अनुमति दिइएको छ। उनीहरूबाट १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बराबर रोयल्टी संकलन भएको विभागको तथ्यांकले देखाउँछ।
सगरमाथापछि ल्होत्से हिमालमा ९ समूहका १ सय ११ आरोही र अमादब्लम मा ९ समूहका १ सय ४ आरोहीले अनुमति लिएका छन्।
यस वर्ष ७९ देशका आरोही नेपाल आएका छन्, जसमा चीन र अमेरिकाबाट सबैभन्दा धेरै क्रमशः १ सय ३९ र १ सय ३२ जना रहेका छन्। बेलायतबाट ७२ र रुसबाट ६६ आरोही सहभागी भएका छन्।
सगरमाथा आरोहणका लागि मात्रै ५५ देशका पर्वतारोहीले अनुमति लिएको तथ्यांकमा उल्लेख छ, जसमा चीनका १ सय, अमेरिकाका ६७ र भारतका ५८ जना रहेका छन्।







