काठमाडौं । रिभर फल्स पावर लिमिटेडले अवितरित हकप्रद शेयर बिक्रीका लागि आवेदन खुला गरेको छ। कम्पनीले गत भदौ २३ गतेदेखि निष्काशन गरी बाँडफाँट गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो।
प्रति शेयर रु १०० अंकित मूल्य तोकिएको छ। उक्त शेयर संस्थापक तथा सर्वसाधारण व्यक्ति, कम्पनी, संघ–संस्था लगायत इच्छुक सबैका लागि खुला गरिएको कम्पनीले जनाएको छ। बोलपत्रमार्फत शेयर खरिद गर्न चाहनेले न्यूनतम १०० कित्ता र अधिकतममा नियामक प्राधिकरणले तोकेको सीमा भित्र शेयर खरिद गर्न सक्नेछन्।
इच्छुक लगानीकर्ताले आफ्नो बोलपत्र यही मंसिर ३ गतेभित्र बैंकिङ समयभित्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। साथै, प्रभु बैंकका बिराटनगर, पोखरा, वीरगन्ज, हेटौँडा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूमा पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।






