काठमाडौं। निरन्तर रुपमा वाणिज्य बैंकहरूमा तरलता बढ्न थालेपछि घरकर्जाको ब्याजदर उल्लेखनीय रूपमा घटेको छ। बैंकहरूले हाल ५.७२ प्रतिशतमै घरकर्जा दिन थालेका छन्। तरलता बढेपछि बैंकहरूबीच कम ब्याजदरमै ऋण प्रवाह गर्ने प्रतिस्पर्धा तीव्र हुँदै गइरहेको छ। कतिपय बैंकहरूले १० वर्षसम्म स्थिर ब्याजदर तोकेर योजना ल्याएका छन् भने केहीले मासिक रूपमा परिवर्तन हुने सस्तो दरका स्किम सञ्चालन गरिरहेका छन्।
सिडी रेसियो केही बैंकहरूको ७० प्रतिशतसम्ममा झरे पनि कर्जा लगानी बढाउने प्रवृत्ति देखिएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पहिलो पटक घर खरिद गर्नेहरूका लागि लोनटु भ्यालु ८० प्रतिशत पुर्याएको छ। यस्तै, गत आर्थिक वर्षसम्म व्यक्तिगत आवासका लागि २ करोड रुपैयाँसम्म कर्जा सीमा थियो भने हाल ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था मिलाइएको छ। बैंकहरूले ब्याजदर र योजनाहरू खुला रूपमा प्रचार गर्दै केहीले बेस–रेटमा प्रिमियम जोडेर कर्जा उपलब्ध गराइरहेका छन्।
यसअन्तर्गत नेपाल बैंक लिमिटेडले ५.७२ प्रतिशतमा घरकर्जा प्रदान गर्दै सबैभन्दा सस्तो कर्जा उपलब्ध गराइरहेको छ। बैंकले ३ करोडसम्म, कुल लागतको १०० प्रतिशतसम्म कर्जा दिने सुविधा राखेको छ भने कर्जाको अवधि २५ वर्षसम्म लचिलो छ। सेवा शुल्कमा ३३.३३ प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ। एनएमबी बैंकले ६.२२ प्रतिशतमा कर्जा दिन्छ, जसअन्तर्गत ३५ वर्षसम्म १० करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुन्छ, तर पहिलो घरका लागि ३ करोडसम्म मात्र कर्जा दिइन्छ। नबिल बैंकले ६.४१ प्रतिशत ब्याजदर तोकेको छ र ०.५ प्रतिशत सेवा शुल्कसहित ५ करोडसम्मको कर्जा ३५ वर्षसम्म उपलब्ध गराउँछ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले ग्लोबल निश्चिन्त आवास योजना मार्फत ७.४९ प्रतिशत ब्याजदरमा ३ देखि १० वर्षसम्मको कर्जा दिइरहेको छ। बैंकले १० वर्षसम्मको निश्चित ब्याजदर ९.४९ प्रतिशतसम्म तोक्छ भने पहिलो ३ वर्ष न्यूनतम ७.४९ प्रतिशत रहन्छ। १० वर्षपछि भने बेसरेटमा २ प्रतिशत प्रिमियम थपेर कर्जा दिन्छ। प्रभु बैंकले ७.९९ प्रतिशतमा घरकर्जा दिइरहेको छ भने लक्ष्मी सनराइज बैंकले २० वर्षसम्मको कर्जा १ हप्ताभित्र उपलब्ध गराउने बताएको छ। यस बैंकले आवासीय भवनका लागि १० करोड, जग्गा तथा अपार्टमेन्टका लागि ५ करोडसम्म कर्जा दिन्छ।
साथै, कुमारी बैंकले ३० वर्षसम्मको होम लोन र निश्चित ब्याजदर विकल्प प्रदान गर्दछ, जसअन्तर्गत घर निर्माण लागतको ८० प्रतिशतसम्म कर्जा पाइन्छ। कृषि विकास बैंकले ५ देखि १५ वर्षको अवधिका लागि घर निर्माण लागतको ७० प्रतिशतसम्म कर्जा दिन्छ भने घर मर्मतका लागि ३ वर्षसम्म कर्जा उपलब्ध गराउँछ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० लाखदेखि २ करोड रुपैयाँसम्म ३० वर्षको कर्जा दिन्छ, तर मुख्य आम्दानी रेमिट्यान्स भएको खण्डमा २० वर्षको अवधि लागू हुन्छ।
यता, एनआईसी एशिया बैंकले २५ लाखदेखि ३ करोडसम्मको लचिलो घरकर्जा २५ वर्षसम्म उपलब्ध गराएको छ। यसको निश्चित ब्याजदर ९.५० प्रतिशत छ भने वार्षिक परिवर्तनशील दरमा बेसरेटमा १.८१ प्रतिशत प्रिमियम लाग्छ। सिटिजन्स बैंकले २५ वर्षसम्म ५ करोड रुपैयाँसम्म घरकर्जा दिने नीति राखेको छ र ७५ वर्षसम्मका व्यक्तिलाई समेत कर्जा उपलब्ध गराउँछ। राष्ट्रिय वाणिज्य बैंकले ९.२५ प्रतिशत स्थिर ब्याजदरमा घरकर्जा दिइरहेको छ। १० वर्षका लागि ९.५० प्रतिशत र १५ वर्षका लागि ९.७५ प्रतिशत दर तोकिएको छ।
त्यस्तै बाकी रहेका सिद्धार्थ बैंकले निश्चित ब्याजदर ७.७५ प्रतिशत राखेको छ भने महिलाका लागि ७.४९ प्रतिशत दर तोकिएको छ। महिलाको नाममा घर खरिद गर्दा ७ वर्षसम्म स्थिर ब्याजदर लागू हुन्छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५ वर्षसम्म ५ करोडसम्म कर्जा उपलब्ध गराउँछ र पहिलो घर खरिदकर्तालाई ७० प्रतिशत कर्जा दिन्छ। एभरेष्ट बैंकले ३ करोडसम्म घरकर्जा उपलब्ध गराउँछ र जग्गा खरिदमा न्यूनतम ५० प्रतिशतसम्म कर्जा दिने नीति राखेको छ।








