काठमाडौं । नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकहरु मध्ये १३ वटा बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेका छन् । तर बाँकी ६ बैंकका सेयरधनीले भने यस वर्ष कुनै पनि प्रतिफल नपाउने भएका छन् । नेपाल बैंक, कुमारी बैंक र प्रभु बैंकले चालु आर्थिक वर्षमा लाभांश नदिने स्पष्ट पारेका हुुन् ।
यस्तै, हिमालयन बैंक र एनआइसी एसिया बैंकको लाभांश वितरण क्षमता ऋणात्मक अवस्थामा रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको क्षमता पनि अत्यन्तै कमजोर देखिएको छ । यस कारण यी बैंकबाट पनि सेयरधनीले लाभांश पाउने सम्भावना न्यून रहेको छ ।
यी हुन् सबैभन्दा धेरै लाभांश दिने शीर्ष ५ बैंक :
एभरेष्ट बैंक – कुल २० प्रतिशत लाभांश
स्टान्डर्ड चार्टर्ड बैंक – कुल १९ प्रतिशत नगद लाभांश
कृषि विकास बैंक – कुल १३ प्रतिशत लाभांश
नबिल बैंक – कुल १२.५० प्रतिशत नगद लाभांश
सिद्धार्थ बैंक – कुल १०.५३ प्रतिशत लाभांश
यस वर्ष सबैभन्दा उच्च प्रतिफल एभरेष्ट बैंकले घोषणा गरेको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको हो । उक्त प्रस्ताव गत कात्तिक १२ गते सम्पन्न साधारण सभाबाट अनुमोदन भइसकेको छ ।
त्यसैगरी, स्टान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ, जुन मंसिर २९ गते सम्पन्न साधारण सभाबाट पारित भइसकेको छ ।

लाभांश घोषणा गर्ने बैंकहरूमध्ये हालसम्म ८ बैंकले साधारण सभा सम्पन्न गरी प्रतिफल स्वीकृत गरिसकेका छन्। माछापुच्छ्रे बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ भने लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक र एनएमबि बैंकको साधारण सभा क्रमशः पुस १४, पुस १८ र पुस २४ गते आयोजना हुने तय भएको छ ।
नबिल बैंक र प्राइम कमर्सियल बैंकको हकमा भने साधारण सभाको मिति अझै सार्वजनिक गरिएको छैन ।







