काठमाडौं । आज तीन वटा कम्पनीले आ-आफ्नो वार्षिक साधारणसभा (एजीएम) आयोजना गर्दैछन्। ती कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्रस्तुत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा विभिन्न प्रशासनिक तथा रणनीतिक प्रस्तावहरू अनुमोदन गर्ने तयारी गरेका छन्।
जस अनुसार राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ८:०० बजे बस्नेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति र कम्पनीको मेमोरान्डममा संशोधन गर्ने प्रस्ताव अनुमोदनका लागि पेश गर्नेछ।
यसैगरी, पलुन खोला हाइड्रोपावर लिमिटेडले आफ्नो मुख्य कार्यालयमा बिहान ११:०० बजे वार्षिक साधारणसभा बोलाएको छ। सभामा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुमोदन, लेखापरीक्षक नियुक्ति, जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्कासन तथा आईपीओबाट संकलित रकमको उपयोगसम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा राखेको छ।
त्यस्तै, सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेडले काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सन्समा बिहान १०:३० बजे वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण र लेखापरीक्षक नियुक्तिसँगै आईपीओ सेयर साधारण जनता तथा परियोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, स्वतन्त्र निर्देशक नियुक्ति, भविष्यका परियोजनामा लगानी, अन्य कम्पनीका सेयरमा लगानी, खरिद तथा बिक्री/वितरणसम्बन्धी प्रस्तावहरू पनि अनुमोदनका लागि प्रस्तुत गरिनेछ।







