काठमाडौँ । अधिकांश बैंकहरूले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरिसक्नुपर्ने भए पनि यस पटक भने विभिन्न ४ बैंकले पुस महिनाभित्र आफ्नो वार्षिक सभा सम्पन्न गर्न नसक्ने अवस्थामा देखिएका छन् । सकेसम्म चालु आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्न बैंकहरू प्रयासरत हुन्छन् । समयमा वार्षिक साधारण सभा (एजीएम) गर्नुलाई पनि सोही अनुसार सुशासनको एउटा पाटोको रूपमा लिइने गरिन्छ।
तर यस पटक नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, र कुमारी बैंकले पौष महिनाभित्रै साधारण सभा सम्पन्न गर्न नसक्ने स्थिति देखा परेको छ । यी ४ वटै बैंकले हालसम्म राष्ट्र बैंकबाट एजीएम क्लियरेन्स पाएका छैनन् ।पुस मसान्त मुखैमा आएको कारण यी ४ बैंकको साधारण सभा यही महिनाभित्र असम्भव देखिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र कुमारी बैंकले गत वर्ष समेत समयमै साधारण सभा गर्न सकेका थिएनन् ।
एनआईएमबी बैंकले एजीएम स्वीकृति प्रक्रियाका लागि राष्ट्र बैंकमा पत्र पठाएको र स्वीकृति पाउने बित्तिकै छिट्टै वार्षिक साधारण सभा आह्वान गर्ने जनाएको छ । त्यस्तै, कुमारी बैंकले समेत एजीएम स्वीकृतिको प्रक्रियामा रहेकाले राष्ट्र बैंकबाट स्वीकृति आउने बित्तिकै साधारण सभा आह्वान गर्ने तयारी रहेको जानकारी दिएको छ ।
बाकी रहेका नेपाल बैंकले लेखापरीक्षणको कार्य जारी रहेकाले ढिला हुन गएको जनाएको छ । अडिटको काम अन्तिम चरणमा रहेकाले चाडैँ नै स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने तयारी रहेको बैंकको भनाइ छ । बैंकिङ क्षेत्रलाई कर्पोरेट सुशासनमा सञ्चालन र व्यवस्थापनमा चुस्तदुरुस्त रहेको क्षेत्रका रूपमा भएको कारण पनि बैंकिङ क्षेत्र पारदर्शी र सुशासनमा रहेको मानिन्छ ।