काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा उल्लेख्य रूपमा वृद्धि भएको छ।
दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको खुद नाफा २२.३४ प्रतिशतले बढेर ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण बैंकको नाफा बढ्न पुगेको बैंकले जनाएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१९ प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी १०.८२ प्रतिशतले बढेर ५६ करोड ७२ लाख रुपैयाँ कायम भएको छ। यस अवधिमा इम्पेयरमेन्ट चार्ज १९ करोड ६४ लाख रुपैयाँबाट घटेर १८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको सम्पत्ति गुणस्तरमा पनि सुधार देखिएको छ। खराब कर्जा अनुपात ०.२५ प्रतिशत बिन्दुले घटेर ४.१० प्रतिशतमा सीमित भएको छ। पुस मसान्तसम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। नाफा वृद्धि भए पनि बैंकको वितरणयोग्य नाफा भने घटेको छ। समीक्षा अवधिमा वितरणयोग्य नाफा २१.२५ प्रतिशतले घटेर २९ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ। यसका आधारमा बैंकको लाभांश क्षमता १५.३२ प्रतिशत रहेको छ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको छ। साथै, रिटेन्ड अर्निङ्समा २९ करोड ५७ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब २४ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ। बैंकको वित्तीय सूचकतर्फ हेर्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ६ पैसाले वृद्धि भई २० रुपैयाँ ४३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७ पैसा रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२.१७ गुणा कायम रहेको छ।







