काठमाडौं । नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र २०९१’ नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो।
कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ऋणपत्र खरिदका लागि आगामी माघ १४ गते बुधबार बोलकबोल खुला हुने जनाएको छ। सूचनाअनुसार ऋणपत्रको निष्कासन मिति २०८२ माघ १५ गते बिहीबार तोकिएको छ भने साँवा भुक्तानी २०९१ साल माघ १५ गते हुनेछ।
ऋणपत्रमा प्राप्त हुने ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ। यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ भने प्राप्त ब्याजमा नियमानुसार आयकर लाग्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
विकास ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरूले आवेदन दिन सक्नेछन्। कुल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ८५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलवालाहरूका लागि छुट्याइएको छ भने बाँकी १५ प्रतिशत अर्थात् १५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलवालाहरूका लागि व्यवस्था गरिएको छ।
यो ऋणपत्रलाई धितोका रूपमा राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने व्यवस्था रहेको छ। साथै, ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको DOMS प्रणालीमार्फत हुने व्यवस्था गरिएको छ।
इच्छुक लगानीकर्ताले माघ १४ गते बुधबार बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणाली (https://doms.gov.np/csd/MainTree.do) मार्फत बोलकबोल पेस गर्नुपर्नेछ।







