काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले प्रतिस्पर्धात्मक बीमा बजारका बीच पनि नाफा तथा प्रमुख वित्तीय सूचकमा स्थिर सुधार कायम राखेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनीले १२ करोड रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा समीक्षा अवधिमा कम्पनीको नाफा २ प्रतिशतले वृद्धि भएको छ। सीमित दरको भए पनि नाफामा देखिएको वृद्धि कम्पनीको सञ्चालन स्थायित्वको संकेतका रूपमा हेरिएको छ।

१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वित्तीय आधार पनि सुदृढ देखिएको छ। समीक्षा अवधिसम्म स्पेसल रिजर्भ १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष असार मसान्तसम्म १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ थियो। महाविपत्ति कोष १० करोड ७३ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १० करोड १२ लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ १९ करोड ९४ लाख रुपैयाँ र अन्य इक्विटी १६ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङ ४२ करोड ९३ लाख रुपैयाँ र अन्य इक्विटी १९ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

बीमाशुल्क संकलनतर्फ समीक्षा अवधिसम्म कम्पनीले ६० करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ६७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको थियो। यसरी कुल बीमाशुल्क १०.५३ प्रतिशतले घटेको देखिए पनि खुद बीमाशुल्कमा भने सकारात्मक सुधार देखिएको छ। समीक्षा अवधिसम्म कम्पनीले ३० करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको २८ करोड २५ लाख रुपैयाँको तुलनामा ८.३८ प्रतिशतले बढी हो।

वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १४.४० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १४.१२ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २०३.११ रुपैयाँ कायम रहेको छ। समग्रमा, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्सले नाफा र प्रमुख वित्तीय सूचकहरूमा सन्तुलित प्रदर्शन गरेको छ।