काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको छ।

गत आवको पुस मसान्तसम्म कम्पनीले ८ करोड ३२ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिसम्म यो रकम १२ करोड ९१ लाख रुपैयाँ पुगेको छ। यसरी बिक्री आम्दानीमा ५५.१४ प्रतिशत वृद्धि भएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी ५९.६५ प्रतिशतले बढेको छ भने कुल नाफा ८८.३२ प्रतिशतले वृद्धि भएको छ। यद्यपि बिक्री र नाफामा वृद्धि भए पनि कम्पनीको नोक्सानी बढेको छ। गत आवको पहिलो ६ महिनामा कम्पनी १ करोड ४५ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो भने चालु आवको सोही अवधिसम्म नोक्सानी २ करोड ६१ लाख रुपैयाँ पुगेको छ। कम्पनीका अनुसार खर्चमा वृद्धि हुनु मुख्य कारण हो।

कम्पनीको चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा २० करोड ५७ लाख रुपैयाँ सञ्चित छ। प्रति सेयर विवरण अनुसार कम्पनीको EPS ऋणात्मक ७ रुपैयाँ २१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा रहेको छ।