काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार उक्त अवधिमा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
तीन महिनामा कम्पनीले गरेको यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष कम्पनीले ११ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । उक्त अवधिमा कम्पनीको महाविपत्ति कोष ३७ करोड ७९ लाख रुपैयाँ र रिटेन्ड अर्निङ १ अर्ब ३३ करोड २७ लाख रुपैयाँ कायम भएको छ।
अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्तिकोष ३७ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ १ अर्ब १५ करोड ७० लाख रुपैयाँ थियो। यस अवधिको तुलनामा महाविपत्ति कोषमा १.५५ प्रतिशत र रिटेन्ड अर्निङमा १५.१९ प्रतिशत वृद्धि आएको छ। साथै, कम्पनीको जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा जीवन बीमा कोष २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ थियो। जीवन बीमा कोषमा २२.२८ प्रतिशतको वृद्धि भएको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। कुल बीमाशुल्क आर्जनमा ८.४६ प्रतिशतको वृद्धि भएको छ ।
यस अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क आर्जनमा १०.०६ प्रतिशतको वृद्धि भएको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ९.२० रुपैयाँमा घटेको छ, जुन अघिल्लो वर्षको ९.९० रुपैयाँ भन्दा कम हो। कम्पनीको पीई रेसियो ५४.७५ गुणा र प्रतिशेयर नेटवर्थ १४३.५९ रुपैयाँ रहेको छ।