काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरूको कुल खुद नाफा ऋणात्मक देखिएको छ। कम्पनीहरूले सार्वजनिक गरेका अवपरिष्कृत वित्तीय विवरण अनुसार, १४ वटा निर्जीवन बीमा कम्पनीको कुल नाफा ४१ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष सोही अवधिमा कम्पनीहरूले १ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो संख्यामा बीमा दाबी दाबी परेको कारण कम्पनीहरूको नाफा प्रभावित भएको हो।
वित्तीय विवरण अनुसार १४ मध्ये केवल एक कम्पनीको नाफा बढेको छ भने, ६ कम्पनीको खुद नाफा गत वर्षको तुलनामा घटेको छ। समीक्षा अवधिमा पाँच कम्पनीको खुद नाफा ऋणात्मक रहेको छ। यो अवधिमा प्रभु इन्स्योरेन्स कम्पनीले मात्र आफ्नो नाफा बढाउन सफल भएको छ। कम्पनीको खुद नाफा गत वर्षको तुलनामा २.०१ प्रतिशतले बढेर १२ करोड २४ लाख रुपैयाँ पुगेको छ।
सबैभन्दा धेरै नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ। पुस मसान्तसम्म यस कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ६०.३४ प्रतिशतले कम हो। अर्कोतर्फ, द ओरियण्टल इन्स्योरेन्स ऋणात्मक अवस्थाबाट बाहिर निस्किएको छ। यस कम्पनीले चालु त्रैमासमा १६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ, गत वर्ष सोही अवधिमा भने १९ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा थियो।
नेशनल इन्स्योरेन्सले पनि नोक्सानीबाट फर्किँदै ६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। तर केही कम्पनीहरूको नाफा ठूलो मात्रामा घटेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ३ करोड ७३ लाख रुपैयाँ रहेको छ, गत वर्षको तुलनामा ४३.२९ प्रतिशतले घटेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा १ करोड ५७ लाख रहेको छ, जसले गत वर्षको तुलनामा ९०.१५ प्रतिशत घटावट देखाउँछ।
एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, र नेपाल इन्स्योरेन्सको नाफा क्रमशः १ करोड १० लाख, १ करोड ७ लाख, र ४९ लाख मात्र रहेको छ, जुन गत वर्षको तुलनामा ८५ प्रतिशतदेखि ९४ प्रतिशतसम्म घटेको छ। समीक्षा अवधिमा अन्य कम्पनीहरू पनि ऋणात्मक प्रदर्शनमा रहेका छन्। शिखर इन्स्योरेन्सले ४ करोड ४७ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले ९ करोड ५९ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले १० करोड ६६ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १७ करोड ८५ लाख, र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १८ करोड ११ लाख रुपैयाँ नाफा ऋणात्मक रहेको छ।







