काठमाडौं। नयाँ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ दिएको छ। ५७ वर्षका केजरीवाललाई सरकारले २०२४ मार्चमा जेल पठाएको थियो। केजरीवालमाथि मदिरा इजाजतपत्र वितरणमा कमिसन लिएको, सम्पत्ति शुद्धिकरण र अन्य आरोप लगाइएको थियो।

शुक्रबार अदालतले उनलाई सबै आरोपबाट निर्दोष घोषणा गरेको छ। अदालत बाहिर पत्रकारसँग उनले भने, “सत्यको जीत भएको छ। मोदी र अमित शाहले आम आदमी पार्टीलाई कमजोर पार्न षड्यन्त्र गरे।”

यसै निर्णयसँगै, पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया र अन्य २१ जना व्यक्तिलाई पनि अदालतले निर्दोष ठहर गरेको छ। केजरीवालले सुरूदेखि नै आरोप अस्वीकार गर्दै आएका थिए।

पहिला कर अधिकारीका रूपमा काम गरेका केजरीवालले सरकारी जागिर छोडेर भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेका थिए। २०१२ मा उनले आम आदमी पार्टी गठन गरी सक्रिय राजनीति सुरु गरे र २०१३ को विधानसभा निर्वाचनमा पार्टीलाई दोस्रो स्थान दिलाएर दिल्ली सरकारको नेतृत्वमा आए।

तर, पार्टीले अघि बढाउन खोजेको भ्रष्टाचारविरोधी जल लोकपाल विधेयकमा सत्तासाझेदारको आपत्ति भएपछि उनले विधानसभा विघटन गर्ने निर्णय लिएका थिए।