काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति करिब ४३ अर्ब ४४ करोड ५० लाख रुपैयाँ रहेको छ। यो तथ्यांक नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो रकम २१.२७ प्रतिशतले बढेको देखिएको छ।
गत आवको माघ मसान्तसम्म वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ३५ अर्ब ८२ करोड ५० लाख रुपैयाँ थियो। बैंकवार विवरण अनुसार नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति २२ करोड ९२ लाख, राष्ट्रिय वाणिज्य बैंक २८ करोड ८७ लाख, नबिल बैंक ३ अर्ब ३८ करोड ९२ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, हिमालयन बैंकको ६ अर्ब ९ करोड ९८ लाख, नेपाल एसबीआई बैंकको १ अर्ब ३ करोड, एभरेष्ट बैंकको ५१ करोड ३९ लाख, एनआईसी एसिया बैंकको ४ अर्ब २३ करोड ५६ लाख, माछापुच्छ्रे बैंकको ६० करोड २० लाख, कुमारी बैंकको २ अर्ब ५० करोड ५१ लाख, लक्ष्मी सनराइज बैंकको २ अर्ब २६ करोड ४२ लाख, सिद्धार्थ बैंकको ७७ करोड २० लाख रुपैयाँ गैर–बैंकिङ सम्पत्ति रहेको छ।
अर्कोतर्फ, कृषि विकास बैंकको १ अर्ब ३३ करोड ३९ लाख, ग्लोबल आईएमई बैंकको ५ अर्ब ९९ करोड ४ लाख, सिटिजन्स बैंकको १ अर्ब २४ करोड ९० लाख, प्राइम कमर्सियल बैंकको ४ अर्ब ४० करोड ५४ लाख, एनएमबी बैंकको १ अर्ब ८३ करोड २ लाख, प्रभु बैंकको १ अर्ब ७९ करोड १९ लाख र सानिमा बैंकको १ अर्ब ३ करोड ३३ लाख रुपैयाँ गैर–बैंकिङ सम्पत्ति रहेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने गैर–बैंकिङ सम्पत्ति देखिएको छैन् ।
गैर–बैंकिङ सम्पत्ति भन्नाले बैंक तथा वित्तीय संस्थाहरूले ऋण नउठेपछि लिलामी बिक्री नभएका वा आफैंले सकारेका धितो सम्पत्तिलाई जनाउँछ। नियमअनुसार बैंकले यस्तो सम्पत्तिलाई सकेसम्म चाँडै बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ।








