काठमाडौं। बैंकिङ क्षेत्रमा पछिल्लो समय निष्क्रिय कर्जा बढ्दै जाँदा कुल गैरबैंकिङ सम्पत्तिको आकार आधा खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ अर्ब १ करोड ५० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यस अवधिमा औसत निष्क्रिय कर्जा दर ५.२६ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ र औसत निष्क्रिय कर्जा ४.४२ प्रतिशत रहेको थियो । तुलनात्मक रूपमा चालू आवको पाँच महिनामा निष्क्रिय कर्जा औसत ०.८४ प्रतिशत बिन्दुले बढेको छ भने गैरबैंकिङ सम्पत्ति १२ अर्ब ४२ करोड ७० लाख रुपैयाँले वृद्धि भएको देखिएको छ।
वाणिज्य बैंकहरूमा मात्र चालू आवको यस अवधिमा औसत ५.०३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने गैरबैंकिङ सम्पत्ति ४३ अर्ब ५ करोड १० लाख रुपैयाँ पुगेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १० अर्ब ३९ करोड ६० लाख रुपैयाँले बढी हो । गत वर्षको पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा ४.२८ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ६५ करोड ५० लाख रुपैयाँ थियो । यसबाट वाणिज्य बैंकहरूमा औसत निष्क्रिय कर्जा ०.७५ प्रतिशतले बढेको र गैरबैंकिङ सम्पत्ति करिब १० अर्ब ३९ करोड रुपैयाँले थपिएको देखिन्छ ।
विकास बैंकहरूमा पनि गैरबैंकिङ सम्पत्तिको आकार उल्लेख्य रूपमा बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा विकास बैंकहरूमा औसत ६.०३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने गैरबैंकिङ सम्पत्ति ४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा विकास बैंकहरूमा औसत निष्क्रिय कर्जा ४.३७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ३ अर्ब ६५ करोड ८० लाख रुपैयाँ थियो । यस अवधिमा विकास बैंकहरूको निष्क्रिय कर्जा औसत १.६६ प्रतिशतले बढेको छ भने गैरबैंकिङ सम्पत्ति १ अर्ब २२ करोड २० लाख रुपैयाँले वृद्धि भएको छ ।
फाइनान्स कम्पनीहरूको अवस्था झनै चुनौतीपूर्ण देखिएको छ । चालू आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूमा औसत १२.५२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने गैरबैंकिङ सम्पत्ति ३ अर्ब ८ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत आवमा फाइनान्स कम्पनीहरूको औसत निष्क्रिय कर्जा १०.८४ प्रतिशत र गैरबैंकिङ सम्पत्ति २ अर्ब २७ करोड ४० लाख रुपैयाँ थियो । यसअनुसार फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जा औसत १.६८ प्रतिशतले बढेको छ भने गैरबैंकिङ सम्पत्ति ८१ करोड रुपैयाँले वृद्धि भएको देखिन्छ।







