काठमाडौँ। नेपालमा फोरजी सेवाको विस्तार भइसकेपछि पनि लाखौँ ग्राहकहरूले अझै पुरानै टुजी वा थ्रिजी सेवा प्रयोग गरिरहेको पाइएको छ। यसका कारण ती ग्राहकहरू तीव्र गतिको इन्टरनेट र गुणस्तरीय कल सेवाबाट बञ्चित भइरहेका छन्।
फोरजी नयाँ प्रविधि हो र टुजी तथा थ्रिजीको इन्टरनेट गति फोरजीको तुलनामा ढिलो हुन्छ। एप्स र भिडियोहरू लोड हुन बढी समय लाग्छ भने स्ट्रिमिङ गर्दा बारम्बार बफरिङ हुने समस्या देखिन्छ।
साथै, भ्वाइस कलहरू पनि थ्रिजी नेटवर्कमार्फत हुने हुँदा कल जडान हुन ढिलो हुने र आवाजको गुणस्तर अपेक्षाकृत कम हुने समस्या रहन्छ।
टेलिकम कम्पनीहरूका अनुसार नेटवर्क, मोबाइल फोन र सिम सबै फोरजी भए पनि धेरै ग्राहकहरूले अझै टुजी वा थ्रिजी नै चलाइरहेका छन्। फोरजीको फाइदा लिन ग्राहकहरूले आफ्नो मोबाइलको सेटिङमा गई फोरजी वा एलटीई अन गर्नुपर्ने हुन्छ।
ग्राहकका समस्यालाई थप खोतलेर हेर्दा धेरै ग्राहकहरू फोरजीमा अपग्रेड हुन नसकेको पाइएको हो। नेपाल टेलिकम र एनसेलले नौ वर्षअघि फोरजी सेवा सञ्चालनमा ल्याएका थिए र यो अहिले देशभर विस्तार भइसकेको छ।
टेलिकम कम्पनीहरूका अनुसार देशभर कुल १४ देखि १५ लाख ग्राहकहरूले फोरजी सिम र मोबाइल भए पनि फोरजी सेवा सुचारु गरेका छैनन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत माघसम्म देशभर फोरजी सेवा लिएका ग्राहकको संख्या २ करोड ६४ लाख रहेको छ भने थ्रिजी अझै पनि झण्डै ८ लाख ग्राहकले चलाइरहेका छन्।
थ्रिजी पुरानो प्रविधि भएकाले अहिले नेपाल टेलिकम र एनसेल दुवैले यो सेवा विस्तारै बन्द गर्दै जाने बताएका छन्। एनसेलले गत वर्ष घोषणा गरेअनुसार देशभर चरणबद्ध रूपमा थ्रिजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने जनाएको छ।
नेपाल टेलिकमले पनि थ्रिजी सेवा विस्थापन गर्ने अभियान तीव्र बनाएको छ।
थ्रिजी सेवा पूर्ण रूपमा विस्थापन गर्ने तयारीमा छौँ : टेलिकमका प्रवक्ता रविन्द्र मानन्धर
देशभर फोरजी सेवा विस्तार भइसके पनि अझै ठूलो संख्यामा ग्राहक थ्रिजीमै सीमित रहेको अवस्थामा नेपाल टेलिकमले अब थ्रिजी सेवा पूर्ण रूपमा विस्थापन गर्ने तयारी गरेको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले आर्थिक भ्वाइसलाई बताएका छन्।
उनले भने, “आगामी आर्थिक वर्ष २०८३/८४ भित्रै सबै थ्रिजी सेवा विस्थापन गर्ने निर्णय गरेका छौँ।”
उनका अनुसार अझै पनि लाखौँ ग्राहकले थ्रिजी प्रयोग गरिरहेकामा तीमध्ये ठूलो हिस्सा फोरजी चल्ने मोबाइल प्रयोगकर्ताको रहेकोले ग्राहक सचेतनामा कमी देखिएको छ।
“करिब साढे तीन लाख ग्राहकको मोबाइलमा फोरजी चल्ने भए पनि उनीहरूले सिमकार्ड अपग्रेड गरेका छैनन्। टेलिकमले त्यस्ता ग्राहकलाई लक्षित गर्दै फोरजीमा अपग्रेड गराउने अभियान सुरु गरिसकेको छ। थ्रिजी नेटवर्क निकट भविष्यमै बन्द गर्ने तयारी भएकाले सम्बन्धित ग्राहकलाई निःशुल्क फोरजी सिम लिन सन्देश पठाउन थालेका छौँ,” मानन्धरले भने।
उनका अनुसार टेलिकमले सम्बन्धित ग्राहकलाई मोबाइल सन्देश र स्वचालित कलमार्फत जानकारी दिँदै आएको छ। “उच्च गतिको इन्टरनेट र गुणस्तरीय भ्वाइस सेवाका लागि नजिकैको टेलिकम काउन्टरमा गएर सिम साट्न आग्रह गरेका छौँ,” उनले स्पष्ट पारे।
प्रवक्ता मानन्धरका अनुसार तोकिएको समयसीमाभित्र फोरजीमा अपग्रेड नभए टेलिकमले थ्रिजी सिमहरू बन्द गर्नेछ।
फोरजी सेवा अन कसरी गर्ने ?
आइफोन अर्थात् आइओएस प्रयोगकर्ता ग्राहकहरूले मोबाइलको सेटिङमा गएर सेलुलर रोजी ‘सेलुलर डाटा अप्सन’ चयन गर्नुपर्छ। त्यसपछि स्क्रिनमा देखिएको ‘भ्वाइस एन्ड डेटा’ मा गई एलटीई वा फोरजीमा क्लिक गर्नुपर्छ।
एन्ड्रोइड अर्थात् अन्य मोबाइलका प्रयोगकर्ताले आफ्नो सेटिङमा गएर ‘कनेक्सन’ मा क्लिक गर्नुपर्छ। त्यसपछि ‘मोबाइल नेटवर्क’ छानी ‘नेटवर्क टाइप’ अथवा ‘नेटवर्क मोड’ मा गई एलटीई वा फोरजी रोज्नुपर्छ। यति गरेपछि फोरजी सेवाबाट फाइदा लिन सकिन्छ।







