काठमाडौँ । अब सेयर बजार शुक्रबार पनि सञ्चालन हुने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिले आज बसेको बैठकबाट यस्तो निर्णय गरेको हो।
यसअघि मन्त्रिपरिषद्ले इन्धन आपूर्ति व्यवस्थापनलाई ध्यानमा राख्दै सातामा दुई दिन—शनिबार र आइतबार—सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयपछि सेयर बजारलाई हप्तामा चार दिन मात्रै चलाउने कि शुक्रबारसमेत खुला गरेर पाँच दिन नै कायम राख्ने भन्ने विषयमा नेप्सेभित्र छलफल भएको थियो। उच्च व्यवस्थापनले विगतमा शुक्रबार कारोबार सञ्चालन भएको उदाहरण प्रस्तुत गर्दै बजार पाँच दिन नै खुला राख्न सिफारिस गरेको थियो।
आइतबार बसेको नियमित बैठकको सुरुवातमै शुक्रबार बजार सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो, जसलाई बहुमतले स्वीकृत गरेको हो। अब सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म नियमित रूपमा हुने व्यवस्था मिलाइने नेप्सेका एक सञ्चालकले जानकारी दिए।
यसै बैठकले स्टक डिलरसम्बन्धी कार्यविधिमा पनि केही संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। उक्त संशोधनले डिलर कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।







