काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा अन्तरबैंक कारोबार उल्लेखनीय रूपमा घटेको छ। यस अवधिमा कुल ७ खर्ब ४३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्यांक सार्वजनिक भएको हो।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक विवरणअनुसार, वाणिज्य बैंकहरूबीच मात्रै ६ खर्ब २९ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै, वाणिज्य बैंक बाहेकका अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब १४ अर्ब १५ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको उल्लेख गरिएको छ।
उक्त अवधिको अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा भने कारोबारमा ठूलो गिरावट देखिन्छ। गत वर्ष सोही ८ महिनाको अवधिमा वाणिज्य बैंकहरूबीच ११ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब ३० अर्ब ३८ करोड रुपैयाँ कारोबार भएको थियो। त्यसबेला कुल अन्तरबैंक कारोबार १२ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ पुगेको थियो।







