काठमाडौँ। जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुँदै जाँदा उनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले सो अवधिसम्म कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ प्रिमियम आर्जन गरेका छन्।
उक्त संकलन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म भने जीवन बीमा कम्पनीहरूले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ प्रिमियम उठाएका थिए।
यस अवधिमा सबै बीमा कम्पनीहरूको व्यवसाय वृद्धि भएको देखिन्छ। प्रिमियम संकलनमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.६४ प्रतिशतले बढी हो।








