नियो बैंक र भर्चुअल बैंक बीचको भिन्नता
नियो बैंक र भर्चुअल बैंक दुवै डिजिटल बैंक भए पनि यी बीच निम्न भिन्नताहरू रहेका छन् :
क) नियो बैंकले प्रायः अन्य बैंकको लाइसेन्स प्रयोग गर्छ, जबकि भर्चुअल बैंकसँग आफ्नै लाइसेन्स हुन्छ ।
ख) भर्चुअल बैंक कानुनी रूपमा पूर्ण बैंक हो, तर नियो बैंक प्रायः फिनटेक प्लेटफर्म जस्तो हुन्छ ।
ग) दुवै डिजिटल भए पनि भर्चुअल बैंकको नियमन र अधिकार बढी स्पष्ट तथा व्यापक हुन्छ ।
घ) नियो बैंक पार्टनर बैंकमा निर्भर हुने भएकाले अप्रत्यक्ष जोखिम रहन्छ भने भर्चुअल बैंक आफैँ जिम्मेवार हुने भएकाले प्रत्यक्ष जोखिम हुन्छ, तर यसको नियमन तुलनात्मक रूपमा बलियो हुन्छ ।
यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास
विश्वभर डिजिटल बैंकिङ तीव्र रूपमा विस्तार हुँदै जाँदा नियो बैंकिङ र भर्चुअल बैंकिङ दुवै मोडेलले आ–आफ्नो स्थान बनाएका छन् । विशेषगरी युरोप, अमेरिका र भारत लगायतका बजारमा यी अवधारणाहरू फरक–फरक नियामकीय ढाँचाअनुसार विकास भएका छन् ।
युरोपमा Revolut र N26 जस्ता नियो बैंकहरूले प्रारम्भमा परम्परागत बैंकसँग सहकार्य गर्दै सेवा विस्तार गरेका थिए । पछि कतिपय संस्थाहरूले आफ्नै बैंकिङ अनुमति प्राप्त गरी पूर्ण डिजिटल बैंकका रूपमा विकास भएका छन् । यसले नियो बैंकिङबाट भर्चुअल बैंकिङतर्फ रूपान्तरण सम्भव रहेको देखाउँछ ।
अमेरिकामा Chime जस्ता नियो बैंकहरू लोकप्रिय बन्दै गएका छन्। यिनीहरूले आफैं बैंकिङ अनुमति नलिई साझेदार बैंकमार्फत सेवा दिँदै प्रयोगकर्तामैत्री प्रणाली र न्यून शुल्कका कारण ठूलो ग्राहक आधार निर्माण गरेका छन् ।
भर्चुअल बैंकिङको अभ्यास हङकङ र सिंगापुर जस्ता वित्तीय केन्द्रहरूमा स्पष्ट रूपमा कार्यान्वयन गरिएको छ । हङकङमा Hong Kong Monetary Authority ले छुट्टै भर्चुअल बैंक अनुमति प्रदान गर्दै पूर्ण डिजिटल बैंक सञ्चालनमा ल्याएको छ । यस्ता बैंकहरूले शाखाविहीन तर पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँछन् ।
भारतमा Reserve Bank of India या क्ष्लमष्ब ले नियो बैंकहरूलाई प्रत्यक्ष अनुमति नदिए पनि साझेदारी मोडेलमार्फत सञ्चालन गर्न दिएको छ । Jupiter र Fi Money जस्ता प्लेटफर्महरू यही ढाँचामा आधारित छन् ।
समग्रमा, नियो बैंकिङ र भर्चुअल बैंकिङ दुवै डिजिटल बैंकिङको विकसित रूप भए पनि तिनको संरचना, नियमन र सञ्चालन मोडेलमा स्पष्ट भिन्नता देखिन्छ । अन्तर्राष्ट्रिय अभ्यासले देखाएअनुसार नियो बैंकिङ नवप्रवर्तन र प्रयोगकर्ता अनुभवमा केन्द्रित प्रारम्भिक मोडेलका रूपमा विकसित हुँदै गएको छ भने भर्चुअल बैंकिङ पूर्ण नियामकीय ढाँचाभित्रको दीर्घकालीन र स्थिर बैंकिङ प्रणालीका रूपमा स्थापित भइरहेको छ।
नेपालका सन्दर्भमा नेपाल राष्ट्र बैंकले यी दुवै मोडेललाई समेट्ने गरी स्पष्ट नीति, कानुनी व्यवस्था र नियमन ढाँचा तयार गर्न सके डिजिटल बैंकिङ अझ प्रभावकारी, सुरक्षित र सर्वसुलभ बन्ने अपेक्षा गर्न सकिन्छ। साथै, प्रविधिसँगै जोखिम व्यवस्थापन र उपभोक्ता संरक्षणलाई प्राथमिकतामा राख्दै अघि बढेमा नेपालको बैंकिङ क्षेत्रले नयाँ उचाइ हासिल गर्ने सम्भावना पनि उत्तिकै बलियो देखिन्छ।