काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल बर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुर्ननिर्माणमा थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सोमबार अपरान्नदेखि परेको अविरल बर्षाले देशभर ठुलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुरयाएको छ । मन्त्री ज्वालाले मकवानपुरको वाग्मति गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमाया स्याङतानको निधन भएकोमा दुख ब्यक्ति गर्नुभएको छ भने सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न निर्देशन दिएका छन् ।

अविरल बर्षापछि सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ । सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ । बन्द भीमदत्त सडकको तत्तकाल पुर्ननिर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई निर्देशन दिएका छन् ।

निर्माणधिन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मुल गेट नजिकै पहिरो जाँदा बुटवल पाल्पा सडक अबरुद्ध बनेको छ । अबरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धीत क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिएका छन् । रासस