काठमाडौं । सरकारले पेट्रोलियम पदार्थसहितका इन्धनको मूल्य तत्काल घटाउने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली र इन्डियन आयल कर्पोरेसनले निर्धारण गर्ने मूल्यका कारण नेपालले त्यसअनुसारै मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताए ।
संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकार हाल पनि केही इन्धनमा घाटा सहेर बिक्री गरिरहेको दाबी गरे । उपभोक्ताबाट मूल्य घटाउन दबाब आए पनि वास्तविक लागतअनुसार मूल्य समायोजन गर्नुपर्ने स्थिति रहेको उनको भनाइ थियो ।
राउतका अनुसार यदि पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरियो भने हालभन्दा अझै महँगो दरमा इन्धन बिक्री हुन सक्ने अवस्था छ । उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले सरकारले मूल्यलाई केही नियन्त्रणमा राखेर बिक्री गरिरहेको उनले बताए ।
उनले नेपाल आयल निगम हाल नाफामा नरहेकाले त्यहाँका कर्मचारीलाई बोनस दिने अवस्था पनि नरहेको स्पष्ट पारे ।







