काठमाडौँ । विशेष अदालतले हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल लाई थप अनुसन्धानका लागि १२ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा दुवैजनामाथि अनुसन्धान भइरहेको छ। बुधबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को संयुक्त इजलासले उक्त आदेश दिएको हो।
शंकर ग्रुपका सञ्चालक अग्रवालको हकमा यो छैटौँपटक म्याद थप गरिएको हो भने भट्टको हकमा पाँचौँपटक म्याद थप भएको हो।
यस प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सँगको समन्वयमा भट्टलाई चैत १९ गते काठमाडौँबाट पक्राउ गरेको थियो। त्यसपछि चैत २२ गते अग्रवाललाई पनि नियन्त्रणमा लिइएको हो।







