काठमाडौं । एसईई नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा भर्ना प्रक्रिया आगामी असार १ गतेदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। यस वर्ष नतिजा छिट्टै प्रकाशित भएकाले भर्ना अभियान पनि समयअघि नै अघि बढ्ने तयारी गरिएको हो।

केही विद्यालयहरूले भने नतिजा सार्वजनिक हुने बित्तिकै अनलाइन तथा प्रत्यक्ष दुवै माध्यमबाट भर्ना आवेदन लिन सुरु गरिसकेका छन्। काठमाडौं महानगरपालिकाले छात्रवृत्तिका लागि अनलाइन आवेदन समेत खुला गरिसकेको छ।

तर, पुराना विद्यार्थीको कक्षा ११ को वार्षिक परीक्षा चलिरहेकै समयमा नयाँ भर्ना प्रक्रिया पनि सुरु हुँदा विद्यालय व्यवस्थापनमा चुनौती देखिएको छ। एउटै विद्यालयमा दुई समूहको व्यवस्थापन गर्नुपर्ने अवस्थाले विद्यार्थी र अभिभावकमा केही अन्योल पैदा भएको छ।

यसबीच, सरोकारवाला निकायहरूले भने भर्ना प्रक्रिया व्यवस्थित हुने दाबी गरेका छन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का प्रतिनिधिहरूले यस वर्ष शैक्षिक सत्र समयमै सुरु हुने र ढिलाइ नहुने बताएका छन्।

शिक्षा मन्त्रालयका अनुसार भर्ना प्रक्रिया सहज बनाउन आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ। मन्त्रालयले असार १ गतेदेखि कक्षा ११ को भर्ना औपचारिक रूपमा खुलाउने तयारी गरेको जनाएको छ।

मन्त्रालयले शैक्षिक सत्रलाई समयमै अघि बढाउन र विद्यार्थीको सिकाइ निरन्तरता सुनिश्चित गर्न नयाँ कार्यतालिका लागू गर्ने जनाएको छ।