काठमाडौँ । आम्दानीमा सुधार र खर्च नियन्त्रणसँगै शिवम् सिमेन्ट लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सुदृढ वित्तीय प्रदर्शन देखाएको हो।

समीक्षा अवधिसम्म कम्पनीले ६१ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४० करोड ५ लाख रुपैयाँको तुलनामा ५४.५८ प्रतिशतले बढी हो।

यस अवधिमा कम्पनीको खुद आम्दानी १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ३८ लाख रुपैयाँ मात्र रहेको थियो।

खर्चतर्फ कम्पनीले उल्लेखनीय नियन्त्रण गरेको छ। अघिल्लो वर्ष ६५ करोड ४८ लाख रुपैयाँ रहेको कुल खर्च घटेर ५४ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीले सेयर प्रिमियम शीर्षकमा ९५ करोड ६२ लाख रुपैयाँ छुट्याएको छ। चालु अवधिसम्म कुल चालु सम्पत्ति ४ अर्ब २७ करोड रुपैयाँ र चालु दायित्व २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।

वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८५.३१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३४.०१ रुपैयाँ कायम भएको छ। तरलता अनुपात १.७० प्रतिशत रहेको कम्पनीले जनाएको छ।