काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको हालैको अभिव्यक्तिप्रति संसदमै आपत्ति जनाएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले कानुन दिवसका अवसरमा गरिएको टिप्पणीले प्रधानमन्त्री र आफ्नो दललाई लक्षित गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले न्यायालयको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजनीतिक कोटाबाट हुने नियुक्तिले न्याय प्रणाली प्रभावित भएको टिप्पणी गरे। यस्ता अभ्यासले स्वच्छ र विश्वसनीय न्याय प्रणाली निर्माणमा चुनौती खडा गर्ने उनको भनाइ थियो।
पराजुलीले न्यायाधीशहरूले सार्वजनिक कार्यक्रममा सहभागी हुँदा आचारसंहिताको पालना गर्नुपर्ने उल्लेख गर्दै केही गतिविधि त्यसको विपरीत देखिएको दाबी गरे। उनले न्यायालयका पदाधिकारीहरू विवादित वा निषेधित प्रकृतिका कार्यक्रममा सहभागी हुनु उपयुक्त नहुने धारणा राखे।
साथै, उनले न्यायालयको गरिमा जोगाउन सबै पक्षले जिम्मेवार ढंगले व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।







