काठमाडौं । सरकारले विभिन्न शीर्षकका वस्तु आयातमा लाग्ने कर तथा शुल्कमा करिब एक अर्ब रुपैयाँभन्दा बढीको छुट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८२ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्य शुल्क पूर्ण वा आंशिक रूपमा मिनाहा गरेको हो।

सरकारले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सहजीकरणका लागि भारत सरकारबाट प्राप्त विभिन्न सामग्रीमा व्यापक कर छुट दिएको हो । यसअन्तर्गत भारतीय दूतावास काठमाडौंको नाममा पैठारी भई नेपाल सरकारलाई हस्तान्तरण गरिने १०६ थान सवारी साधनमा लाग्ने सम्पूर्ण कर मिनाहा गरिएको छ । यी सवारी साधनको मूल्य भारतीय रुपैयाँ ७ करोड ४८ लाखभन्दा बढी रहेको उल्लेख छ ।

त्यस्तै, थप २२३ थान सवारी साधनमा १६ करोड १९ लाख रुपैयाँ बराबरको कर छुट दिइएको छ भने अर्को चरणमा प्राप्त ३० थान सवारी साधनमा २ करोड ४१ लाख रुपैयाँ बराबरको कर मिनाहा गरिएको छ ।

मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फिर्ता ल्याइएका सामग्री, विदेशबाट पुनः प्राप्त ऐतिहासिक तथा पुरातात्त्विक वस्तुहरू, साथै निर्वाचन सहजीकरणका लागि भारत सरकारले उपलब्ध गराएका सवारी साधन तथा सुरक्षा सामग्रीमा कर छुट दिइएको छ।

राजपत्रमा प्रकाशित विवरणअनुसार भारत सरकारबाट प्राप्त विभिन्न चरणका सवारी साधन, टियर ग्यास गन, फर्निचर, सुरक्षा उपकरण र अन्य सामग्रीमा ठूलो परिमाणमा कर छुट प्रदान गरिएको छ। ती सामग्री गत प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापन तथा सुरक्षामा प्रयोग गरिएको बताइएको छ।

त्यस्तै, शान्ति मिसनमा प्रयोग भएका नेपाली सेनाका सामग्री फिर्ता ल्याउँदा लाग्ने भन्सार तथा अन्य शुल्क पनि मिनाहा गरिएको छ। साथै, विदेशबाट फिर्ता ल्याइएका पुरातात्त्विक महत्वका मूर्ति, चित्र र काठका कलाकृतिहरूमा समेत कर छुट लागू गरिएको छ।

अर्थ मन्त्रालयले राष्ट्रिय महत्व, निर्वाचन व्यवस्थापन, सुरक्षा आवश्यकता तथा सांस्कृतिक सम्पदा संरक्षणलाई ध्यानमा राख्दै विभिन्न चरणमा कर छुटका निर्णय गरिएको स्पष्ट पारेको छ।