काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको सञ्चालकमा सुशील बाबु ढकाल नियुक्त भएका छन् । सरकारको पछिल्लो निर्णयअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ढकाललाई सञ्चालकमा नियुक्त गरिएको हो ।
सरकारद्वारा जारी ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ अनुसार बीमा ऐन, २०७९ मा संशोधन भएपछि प्राधिकरणको सञ्चालक संरचनामा नयाँ व्यवस्था लागू गरिएको हो।
संशोधित प्रावधानअनुसार अब भौतिक पूर्वाधार क्षेत्र हेर्ने मन्त्रालयबाट प्राविधिक सहसचिव स्तरको प्रतिनिधि पनि बोर्डमा सदस्य रहने व्यवस्था गरिएको छ।
यसअघि प्राधिकरणको बोर्डमा मुख्यतः अर्थ मन्त्रालय, कानुन मन्त्रालय तथा बीमा विज्ञहरूको मात्र प्रतिनिधित्व रहने गरेको थियो। नयाँ संशोधनपछि सरकारी प्रतिनिधित्वको दायरा विस्तार गरिएको छ।







