काठमाडौं । लघुबीमा कम्पनीले अब ५० लाख रुपैयाँसम्मको मोटर बीमा गर्न सक्ने भएका छन् । लघुबीमाको व्यावसायिक दायरा बढाउन बीमा प्राधिकरणले संशोधन गरेको लघुबीमा निर्देशनले यस्तो व्यवस्था गरिएको हो ।

पुस १८ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त संशोधित निर्देशन स्वीकृत गरेको हो । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिले सो निर्देशन जारी गरेको होे । योसँगै अब लघु निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले ५० लाखसम्मको मोटर बीमा गर्न सक्ने भएका छन्।

‘निर्जीवन लघुबीमा कम्पनीहरूलाई मोटर लघुबीमा अन्तर्गत अधिकतम दायित्वको सीमा ५० लाख रुपैयाँ तोकिएको छ । यो व्यवस्था तत्काल लागू हुने प्राधिकरणले बताएको छ । यसका लागि मोटर बीमादर सम्बन्धी निर्देशिका, २०७३ बमोजिम मोटर तेस्रो पक्ष बीमा हुनुपर्ने प्राधिकरणको भनाई छ ।

मोटर लघुबीमा ट्रेलर, ट्र्याक्टर, थ्रेसर, मोटर अन्तरगत पर्ने, कृषि उपकरण, मोटरसाइकल, मोपेड, ट्याम्पो, रिक्सा र ठेला गाडाको मात्रै लघुबीमा कम्पनीले बीमा गर्न सक्ने व्यवस्था गरेको छ ।