काठमाडौँ –सुनको भाउले आज अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । आज एकै दिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर एक लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको  छ ।

यस अघि शुक्रवार नेपाली बजारमा सुन तोलाको एक लाख ३२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ ।

शुक्रवार प्रतितोला एक हजार छ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पछिल्लो केही हप्तादेखि सुनको मूल्यले कीर्तिमानी कायम गर्दै आएको छ । सुनको भाउ बढ्नुमा अमेरिकी डलरको मजबुतीलाई मुख्य कारणको रूपमा मानिएको छ ।  डलर बलियो भएसँगै विश्व बजारमा सुनको भाउसमेत उकालो लागेको विश्लेषकहरू भनाई छ ।

सुनचाँदी व्यवसायीका अनुसार अमेरिकी रिजर्भ बैंकले लिएको नीतिले पनि सुनको मूल्य बढेको छ । पछिल्ला दिनहरुमा चीनले सुनमा व्यापक लगानी वृद्धि गरेको छ । यसले पनि मूल्य वृद्धि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

यस्तै, विश्व बजारमा द्वन्द्व अझै बढ्न सक्ने आकलनका कारण पनि सुनको मूल्यमा वृद्धि देखिएको विभिन्न रिसर्च संस्था र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको व्यवसायीहरू बताउँछन् ।

नेपाली बजारमा सुनको मूल्य आगामी ६ महिना भित्रमा १ लाख ५० हजार कायम हुने सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले जनाएका छन् ।