काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिने गरी ल्याएको बताएका छन्।
मङ्गलवार राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सन्तुलित बजेट ल्याएको बताए । अर्थमन्त्री पुनले आगामी वर्षको बजेट सातै प्रदेशलाई समान रूपमा बजेट वितरण गर्ने र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेको दाबी गरे ।
अर्थमन्त्री पुनले आगामी वर्षको बजेटमा ५ प्राथमिकता र ५ उद्देश्य लिएको स्मरण गराए । सांसदहरूले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य महत्त्वाकाङ्क्षी रहेको, घोषित कार्यक्रम कार्यान्वयनमा चुनौतीपूर्ण, ठुलो आकार र वितरणमुखी भएको, वैदेशिक अनुदान र ऋणको लक्ष्य भेट्न कठिन रहेको लगायतका विषयमा प्रश्न उठाएका थिए ।
अर्थमन्त्री पुनले भने, ‘विगतका वर्षमा गरिएका आर्थिक सुधारका विषयलाई निरन्तरता दिँदै, रोजगारी सृजना गर्दै अर्थतन्त्रलाई मजबुत बनाउँदै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको बताएका छन् ।
यस्तै सिद्धान्त र प्राथमिकता बमोजिम बजेट नआएको, चालू खर्च घटाउने योजना चुनौतीपूर्ण रहेको र शिक्षा तथा स्वास्थ्य मन्त्रालयको बजेट घट्दा अर्थ मन्त्रालयमा थुप्रिएको बजेटका विषय समेत सांसदहरूले प्रश्न उठाएका थिए । यस्तै सरकारी कर्मचारीको तलब वृद्धि नभएको, जलवायु परिवर्तन अनुकूल बजेट नआएको लगायतका विषय समेत सांसदले उठाएका थिए ।
यस्तै अर्थमन्त्री पुनले आगामी वर्षका लागि विनियोजन भएको बजेट नेता केन्द्रित नभएको दाबी गरे । विगतमा अर्थ मन्त्रालयले ठुला र प्रभावशाली नेताको इच्छाबमोजिम निर्वाचन केन्द्रित बजेट विनियोजन हुने परिपाटी थियो। यही विषयलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी वर्षको बजेटमा त्यस्तो समस्या नदोहोरिएको बताए ।
‘बजेट ठुला नेताको निर्वाचन क्षेत्र, प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै गयो भन्ने आरोप लाग्नबाट जोगिने प्रयास भएको छ,’ उनले भने, ‘यसपालि १६५ वटै निर्वाचन क्षेत्रमा समान रुपले बजेट विनियोजन गरिएको छ ।’
यी विषयमा जवाफ दिँदै अर्थमन्त्रीले नीति तथा कार्यक्रमअनुसार र नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिम बजेट ल्याएको बताए । यस्तै लगानी सम्मेलनका क्रममा भएको प्रतिबद्धतालाई समेत बजेटले प्राथमिकतामा राखेको उनको भनाई छ । गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि भएकामा चालू वर्ष ३.९ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान सरकारको छ ।
‘गत वर्षको तुलनामा चालू वर्ष आर्थिक स्थिति सुधार हुँदै गएकाले आगामी वर्षमा थप आर्थिक वृद्धि हुने अपेक्षासहित ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तय गरिएको छ,’ पुनले भने, ‘निजी क्षेत्रको मनोबल सुधारिएको छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी थुप्रिएको छ ।’ सोहीकारण बजेटमा प्रस्ताव गरिएका आयोजना र लगानीले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अर्थमन्त्रीले दोहोर्याए।
बजेट बनाउँदा राष्ट्र बैंकले समेत पर्याप्त सुझाव दिएको उनको भनाई छ । सोहीकारण बजेटले लिएका नीतिलाई सहजीकरण गर्दै आगामी मौद्रिक नीति आउनेमा विश्वास व्यक्त गरे । ‘गभर्नरज्यूले पछिल्ला कार्यक्रममा दिएको वक्तव्यले समेत यसलाई पुष्टि गर्छ,’ पुनले भने, ‘आगामी वर्षको मौद्रिक नीति बजेटका कार्यक्रमलाई समर्थन गर्दै लचिलो आउन सक्छ।’
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । यो बजेटको आकार महत्त्वाकाङ्क्षी नभएर वस्तुपरक भएको उनले बताउँदै आएका छन् । यस क्रममा अर्थमन्त्री पुनले आजभन्दा तीन वर्ष अघि भएको २०८१-८२ को मध्यावधि खर्च संरचना प्रस्तुत गर्दाको आकार सम्झिए ।