काठमाडौँ । आज असार ३० गते आइतबारका दिन विजय लघुवित्त सहित तीन कम्पनीको वार्षिक साधारण सभा बोलाएका छन्।

आज विजय लघुवित्त, समाज लघुवित्त र रसुवागढी हाइड्रोपावरले वार्षिक साधारण सभा बोलाएका छन् । यी ३ वटै कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएका हुन्।

विजय लघुवित्तको वार्षिक साधारण सभा धुलिखेल लज रिसोर्ट धुलिखेल काभ्रेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ। सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी भने कुनै पनि प्रस्ताव पेश गरेको छैन । सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभाले पारित गर्ने कार्यक्रम छ।

साधारण सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ। आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गरिसकेको छ ।

समाज लघुवित्तको सभा जानकी फेमिली होटल एन्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेटिएको छ । सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नको लागि २ जना सञ्चालकहरूको निर्वाचन हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १९ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

रसुवागढी हाइड्रोपावरको वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा कमलादी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । आज यस कम्पनीको २ आर्थिक वर्ष (दशौं र एघारौँ) वार्षिक साधारण सभा एकसाथ बस्न लागेको हो । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभाले स्वतन्त्र समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिलासहित ४ जना सञ्चालक नियुक्ति गर्नेछ ।

साथै, स्वतन्त्र सञ्चालक २ जना निर्वाचन गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते बुक क्लोज गरिसकेको छ ।