काठमाडौँ । अवसर इक्विटी लिमिटेडले आगामी मंसिर ११ गते का लागि आफ्नो वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ। यस साधारण सभामा कम्पनीले शेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट करसहित ९.५ प्रतिशतको नगद लाभांश वितरण गर्ने महत्त्वपूर्ण प्रस्ताव पेश गर्ने जानकारी दिएको छ।

यस कम्पनीले हाल अवसर इक्विटी डाइभर्सिफाइड फन्ड सञ्चालन गरिरहेको छ। यो फन्ड नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भएको रु. ४.५६ अर्बको क्लोज एन्डेड सेक्टर एग्नोस्टिक निजी इक्विटी फन्ड हो । यस फन्डमा नेपाल बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकजस्ता ठूला वाणिज्य बैंकहरूको पनि लगानी रहेको छ।

उक्त कम्पनीको साधारण सभामा लाभांश पारितका अतिरिक्त विविध प्रस्तावहरू पेश हुनेछन्। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ। साथै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिसमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ।

यी सबै प्रस्तावका साथै, सभाले सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ। कम्पनीको नियमावलीको नियम २७ बमोजिम आगामी ४ वर्षे कार्यकालको लागि शेयरधनीहरूमध्येबाट चार (४) जना सञ्चालकहरूको निर्वाचन गर्ने कार्यक्रम पनि साधारण सभाको प्रमुख एजेन्डा रहेको छ।