काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । असोज २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले १८औँ वार्षिक साधारण सभा कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो।

उक्त सभा काठमाण्डौको डिल्लीबजारमा रहेको अमृत भोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ। सभामा गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने भएको छ ।

सभामा आव २०८०-८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको बैंक तथा बैकको सहायक कम्पनीहरू सहितको एकीकृत वासलात र २०८० साउन १ गतेदेखि २०८१ असारसम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पारित हुने भएको छ ।

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने÷गाभिने मर्ज गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याकनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरू मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।