पर्वत । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर बायो कम्पोष्ट मल उद्योग सञ्चालनमा ल्याएका छन्।

उद्योगले गत बिहीबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ। खोलाखेत गाउँका नौ जना स्थानीयले सामूहिक रूपमा रु १५ लाख लगानी गरेर स्थापना गरेको उद्योगबाट कम्पोष्ट मल तयार गर्न सुरु भएको हो।

गाउँदेखि माथि रहेको जङ्गल छेउमा कम्पोष्ट मलका लागि आवश्यक पूर्वाधार निर्माण गरी उद्योग सञ्चालनमा ल्याइएको बायो कम्पोष्ट मल उत्पादन समितिका अध्यक्ष ढकबहादुर जिसीले जानकारी दिए।

उनका अनुसार उत्पादित मलको सराङकोट दाजुभाइ एग्रो फर्म प्रालिमार्फत प्याकेजिङ र बिक्री वितरणको व्यवस्था मिलाइएको छ। जैविक बायो कम्पोष्ट मलमा पर्याप्त मात्रामा नाइट्रोजन, फस्फोरस, कार्बोन, पोटासियम र बिरुवाको वृद्धिका लागि आवश्यक सबै पोषक तत्व पाइने समितिका अध्यक्ष जिसीले बताए। उनले भने, “हामीले मलको ल्याब परीक्षण गरी उत्पादनको स्वीकृति पाएका छौँ। परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु गर्छौँ।”

उत्पादन सुरु भएसँगै मुस्ताङबाट करिब ३० टन मलको माग आएको उनले बताए। मलको प्रतिकेजी रु ४० मूल्य निर्धारण गरिएको छ। स्याउ र सुन्तलाखेतीका लागि कम्पोष्ट मल धेरै उपयोगी हुने उनको भनाइ छ।

जैविकखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादन गरिएको उक्त मल शतप्रतिशत प्राकृतिक रहेको उत्पादकले जानकारी दिएका छन्। कृषि उत्पादन वृद्धि, माटोको उर्वराशक्ति सुधार तथा वातावरणमैत्री खेती प्रणालीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित बायो कम्पोष्ट मल उत्पादन थालिएको स्थानीयवासी नरबहादुर कार्कीले जानकारी दिए।

जैविक कम्पोष्ट मल विभिन्न जैविक पदार्थ जस्तै घाँस, पात, गोबर, कृषि अवशेषलगायतबाट तयार पारिएको हो। यस मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्ने, बिरुवाको वृद्धि राम्रो बनाउने तथा रासायनिक मलको प्रयोग घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रशोधन गरेर तयार पारिएको मललाई दुई केजीका दरले प्लास्टिक प्याकेटमा प्याकिङ गरेर बजारमा पु¥याइने उत्पादकले जनाएका छन्। उक्त मल फलफूल, तरकारी, अन्नबाली तथा बगैँचामा प्रयोग गर्न उपयोगी हुने अपेक्षा गरिएको छ।