काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त साधारण सभा आज सोमवार बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेज्यूको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको हो ।
यस अवसरमा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको एन.एफ.आर.एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६/- को ४ प्रतिशतले हुने रु ५६,८०,३८,९६०/२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २,९८,९६,७८७/३८ सहित जम्मा रु ५९,७९,३५,७४७/६१ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए ।
साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी पनि गराए ।
यसका साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा समेत प्रकट गरे ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।