काठमाडौं। काठमाडौं उपत्यकाबाट चोरी भएका २१ वटा मोटरसाइकल, स्कुटर फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले आइतबार २१ वटा दुई पांग्रे सवारी धनीलाई हस्तान्तरण गरेको हो । जसमा १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेको छन् ।

हराएको तथा चोरी भएको भन्दै निवेदन दिएको आधारमा मोटरसाइकलको खोजी ट्राफिक प्रहरीले गरेको थियो । सो क्रममा केहीमा सक्कलै नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेर चलाएको अवस्थामा फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

योसँगै चालु आर्थिक वर्षमा मात्रै ४१७ थान सवारी साधन फेला पारेर धनीको जिम्मा लगाइएको ट्राफिकले जनाएको छ । यसै आर्थिक वर्षमा सवारी साधन चोरीमा ४१ जनालाई पक्राउ समेत गरेको छ ।