काठमाडौँ । माछापुच्छ्रे बैंकका सीईओ तथा नेपाल बैंकर्स एशोसिएसनका भाइस प्रेसिडेन्ट सन्तोष कोइरालाले चालु आर्थिक वर्षको मौद्रिक नीति समग्रमा लचकदार भएको बताएका छन् ।
मौद्रिक नीति सार्वजनिक भए लगत्तै आर्थिक भ्वाईससँग कुराकानी गर्दै सीईओ कोइरालाले समग्रमा चालु आर्थिक वर्षको मौद्रिक नीति जनअपेक्षा अनुसार नै आएको र यसले शिथिल रहेको अर्थतन्त्रलाई लयमा ल्याउने सम्भावना जगाएको बताएका छन् ।
‘समग्रमा आजको मौद्रिक नीति अपेक्षा अनुसारको छ । यो लचकदार मौद्रिक नीतिले आर्थिक गतिविधि लयमा ल्याउँछ भन्नेमा विश्वास जगाएको छ।’ कोइरालाले भने।
मौद्रिक नीतिले नेपालको बैंकिङ क्षेत्रमा मात्र नभएर समग्र अर्थतन्त्रको क्षेत्रलाई छोएको सीईओ कोइरालाको भनाई छ । ‘ लामो समयदेखि आन्दोलनरत निर्माण व्यवसायीलाई समेत सम्बोधन गरेको मौद्रिक नीतिले व्यवसायीहरूको हकमा आई परेका समस्यालाई कुनै न कुनै ढङ्गले सम्बोधन गरेर जाने स्पष्ट मार्गचित्र देखाएको छ ।’ उनले भने।
विशेषत : बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिँदै आएको अधिक तरलतालाई कम गर्न र लोन प्रवाहलाई गतिशील बनाउने विषयमा स्पष्ट नीति आएको कोइरालाको भनाई छ । ‘ लचक मौद्रिक नीतिका कारण बैंकहरुको नाफा बढ्ने,यसका साथै निजी क्षेत्रतर्फ १२.५ प्रतिशत राखिएको कर्जा बिस्तारको लक्ष्य पनि पुरा हुने खालको देखिन्छ ।’ सीईओ कोइराला भने -‘ यो सबै विषयमा समग्रमा सकारात्मक मान्न सकिन्छ ।’
मौद्रिक नीति लचकदार छ,अब अर्थतन्त्रका सबै क्षेत्रहरू चलायमान हुन्छ : सीईओ कोइराला
‘अहिलेको अवस्था भनेको बैंकबाट लोन प्रवाह हुन नसकिरहेको अवस्था हो । यसले बैंक बित्तीय संस्थामा एउटा निराशा जन्माएको स्थिति थियो नै तर अब भने त्यो निराशा आशामा बदलिएको छ। बैंकहरुलाई अब काम गर्न निकै सहज हुने छ।’ कोइराला भने-‘ नयाँ व्यबस्थाले कर्जा बिस्तारमा सहयोग गर्ने देखिन्छ।’
यता मौद्रिक नीतिको लक्ष्य नै कर्जाको विस्तार गर्ने देखिएको उनको भनाई छ । बैंकहरुमा पैसा रहेको तर त्यो चलायमान हुन नसकेको अवस्थामा मौद्रिक नीतिले एउटा बाटो खोलिदिएको र अब सबै अर्थतन्त्रका क्षेत्रहरू चलायमान हुने अवस्था बनेको कोइरालाको बताए ।







