काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीले समस्या भोग्नुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।
आज (शुक्रवार) नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार उद्योगी व्यवसायीका समस्या समाधानका लागि तत्पर रहेकोले अब व्यवसायीले समस्याबाट भाग्नु पर्ने दिनको अन्त्य भएको बताएका छन् ।
उनले अहिलेको संसद्ले सबैभन्दा बलियो सरकार निर्माण गरेको दाबी गर्दै निजी क्षेत्रले विगतको जस्तो समस्याहरू भोग्न नपर्ने धारणा राखेका हुन् । यस्तै, उनले वर्तमान सरकारले निजी क्षेत्रको भूमिका बुझेको पनि बताएका छन् । उनले निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन् ।
बिस्तारै अर्थतन्त्रको केही सूचक सुधार हुँदै गएको भए पनि समस्याबाट अझैँ बाहिर आउन नसकेको स्मरण गर्दै उनले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए । उनका अनुसार अहिलेको अर्थतन्त्र सुधार गर्नको लागि आन्तरिक खपत बढाउनु पर्नेमा जोड दिएका छन् ।








